काठमाडौं
माघ २१ –
निर्देशक विकास राज आचार्यले सिनेमा ‘निराञ्जना’ दीपक राज गिरी र दीपा श्री निरौलासँग मिलेर बनाउन लागेका छन् । विकासको निर्देशनमा बन्न लागेको यो सिनेमा आमा सरस्वती मुभिज प्राली र विकास राज आचार्यको ब्यानरमा बन्ने छ ।
सिनेमामा दीपक राज गिरी, दीपा श्री निरौला र विकास राज आचार्यको लगानी रहनेछ । सिनेमालाई विकास राज आचार्यले नै निर्देशन गर्नेछन् ।
विकासले लेखेको कथा दीपक राज गिरीलाई मन परेका कारण दीपकले यो सिनेमा आफ्नो ब्यानरमा बनाउन चाहेका हुन् । हाल दीपक राज गिरी, विकास राज आचार्य र समिप तिमिल्सिनाले सिनेमाको कथा हेरफेर गरिरहेका छन् ।
निश्चल स्वस्तीमाको मुख्य भूमिका !
पुरुषोत्तम प्रधानले खिच्ने यो सिनेमामा मुख्य अभिनेताको रुपमा निश्चल बस्नेत र जितु नेपाललाई देख्न पाइने लगभग पक्का पक्की भइसकेको छ । निरान्जनामा निश्चलको को–स्टारको रुपमा उनकी जीवन संगीनी स्वस्तीमा हुनेछिन् । त्यस्तै जितु नेपालको हिरोइन भने को हुने त्यसको फाइनल भएको छैन । तर जितु नेपालको को–स्टारको रुपमा अभिनेत्री वर्षा राउत हुने सम्भावना बलियो छ । निरान्जनामा निश्चल बस्नेत, जितु नेपाल, स्वस्तीमा खड्का, किरण केसी, अनुभव रेग्मी, राजाराम पौड्याल लगायतका कलाकारहरु हुने भने लगभग फाइनल भएको विकास राज आचार्यले जानकारी दिएका छन् । तर सिनेमाको लागि कुनै पनि कलाकारले साइन भने गरेका छैनन् ।
दीपक र दीपालाई कथाले माग्न सक्छ !
चाँजोपाँचो छिट्टै मिलेमा फागुनको दोस्रो साता नभए चैतको पहिलो सातादेखि फ्लोरमा जाने सम्भावना देखिएको यो सिनेमामा दीपक र दीपालाई देख्न पाइन्छ कि पाईँदैन ? भन्ने हाम्रो प्रश्नमा विकासले भने, ‘उनीहरुलाई कथाले माग्छ की माग्दैन त्यो समयले बताउँछ । कथाले मागेको खण्डमा उनीहरु पनि यो सिनेमामा देखिनेछन् ।’ कमेडि र सेन्टिमेन्टल प्रेमकथामा आधारित यो सिनेमामा द्वन्द्वले ठाउँ पाउने छैन । सिनेमामा तीनवटा गीतहरु एउटा लोकगीत, एउटा प्रेम गीत र एउटा सेन्टिमेन्टल गीत समावेश गरिने विकासले हामीलाई जानकारी दिएका छन् ।
Ujyaalo Online